हाम्रो बारेमा

My Photo
ललितपुरबाट ललितपुरका लागि खबर सञ्चार गर्ने खबरपत्रिका तथा सञ्चारमाध्याम छैनन् । यो परिस्थितिमा न्यूज अफ ललितपुर डटकम नामक यो ब्लगको शुरुवात गरिएको छ । यो ब्लगमा हामी ललितपुरका खबरलाई आफ्नो बाहुबलले भ्याएसम्म समेट्ने जमर्को गर्नेछौं । राजधानी दैनिक, हिमाल खबरपत्रिका पाक्षिक, रेडियो सगरमाथा, कान्तिपुर एफएम, उज्यालो नाइन्टी नेर्टवर्कजस्ता नाम चलेका सञ्चार गृह ललितपुरमा हुँदाहुँदै पनि जिल्लाका समाचारलाई कम प्राथमिकतामा पार्ने गरिएको हामीले महसुस गरेका छौं । यि समाचार संस्थाहरुले अरु जिल्लामा जस्तो यो जिल्लामा छुट्टै रिपोर्टर राख्ने गरेका छैनन् । उनीहरुलाई पनि उपयोगी होस् भनने हाम्रो चाहना छ । खासगरी जिल्लामा भएगरेका गतिविधिहरुलाई जनसमक्ष पुर्‍याउन एउटा साप्ताहिक पत्रिका र यो ब्लग शुरु गरिएको छ । खबर पठाउन हामी यहाँहरु माझ हार्दिक आव्हृवान गर्दछौं ।

नेपाली समय

Monday, February 27, 2012

पाँच अवार्डसहित दी आर्टिस्ट ओस्कार जित्‍न सफल

लस एन्जल्स, फागुन १५ (एजेन्सी) - फिल्मी क्षेत्रको सबैभन्दा ठूलो अवार्ड ओस्करको ८४ औं संस्करणमा दी आर्टिस्ट उत्कृष्ट फिल्म घोषित भएको छ। उत्कृष्ट फिल्म, अभिनेता, निर्देशकसहित पाँच विधामा यो फिल्मले उपाधी हात पार्‍यो। संवादरहित यो फिल्म फ्रेन्च-अमेरिकन फिल्म हो। अर्को फिल्म हुगोले पाँच नै अवार्ड जित्‍न सक्यो। 
फिल्म दी आर्टिस्टबाट फ्रेन्च निर्देशक मिखेल हाजानाभिक्सअसले ओस्कर पाएका छन्। उनले उपाधी पाउनासाथ फ्रान्सेली राष्ट्रपति नकोलस सार्कोजीले टुइटरबाट उनलाई बधाई दिएका छन्। फ्रान्सेलीलाई गौरवान्वित बनाएको सार्कोजिको टुइटमा उल्लेख छ।
८२ वर्षीय क्रिस्टफर प्लुमरले फिल्म विगिनर्सका लागि उत्कृष्ट सह अभिनेताको अवार्ड पाएका छन्। उनको यो पहिलो एकेडेमी अवार्ड हो। उनी यो अवार्ड पाउने सबैभन्दा पाको उमेरका कलाकार हुन्।


र, यी हुन् ओस्कार विजेताहरु :
फिल्म : दी आर्टिस्ट


अभिनेत्री - मेरल स्ट्रिप, फिल्म - दी आइरन लेडी


अभिनेता - जेन डुजार्डन, फिल्म - दी आर्टिस्ट


निर्देशक - मिखेल हाजानाभिक्सिअस, फिल्म- दी आर्टिस्ट


एनिमेटेड सर्ट - मोरिस लेसमोर, फिल्म - दी फेन्टास्टिक फ्लाइङ बुक


डकुमेन्ट्री सर्ट - डानिअल जङ्ग र सारमिन ओ चिन्यो, फिल्म - सेभिङ फेस


सर्ट फिल्म (लाइभ एक्सन) - टेरी जर्ज र ओ. जर्ज, फिल्म - दी सोर


ओरिजिनल स्क्रिनप्ले - उडी एलेन, फिल्म मिडनाइट इन पेरिस

एडप्टेड स्क्रिनप्ले - अलेक्जेन्डर पेनी, नेट फ्याक्सन र जिम रस, फिल्म दी डिसेन्डेन्स

ओरिजिनल गीत - ब्रेट म्याकान्जी, फिल्म - म्यान और मप्पेट

ओरिजिनल स्कोर - लुडोभिक बोर्स, फिल्म - दी आर्टिस्ट

सह अभिनेता - क्रिस्टफोर प्लुमर, फिल्म - विगिनर्स

भिजुअल इफेक्टस - रव लेगाटो, जोस विलियम, विन ग्रसम्यान र एलेक्स हेनिङ, फिल्म - हुगो

एनिमेटेड फिचर फिल्म - गोर भर्विनस्की, फिल्म - रङ्गो

डकुमेन्ट्री- टीजे मार्टिन, ड्यान लिन्डसे र चरि मिडलेम्स, फिल्म - अनडिफिटेड

ध्वनी मिश्रण - टम फ्लिसम्यान र जोन मिडग्ले, फिल्म - हुगो

ध्वनी सम्पादन - फिलिप स्टकटोन र युजिन गार्टी, फिल्म - हुगो

फिल्म सम्पादन - किर्क व्याक्स्टर र अनगस वाल, फिल्म - दी गर्ल विथ दी ड्र्यागन टाटू

सह अभिनेतृ - ओक्टाभिया स्पेन्सर, फिल्म - दी हेल्प

विदेशी भाषाको फिल्म - इरानी फिल्म - अ सेपरेसन

सज्जा - मार्क कौलियर र जे रोय हिल्यान्ड, फिल्म - दी आइरन लेडी

पोशाक डिजाइन - मार्क ब्रिज, फिल्म - दी आर्टिस्ट

कला निर्देशन - दान्ते फरेटी र फेन्सिस लो सेभियो, फिल्म - हुगो

सिनेमाटोग्राफी - रोवर्ट रिचार्डसन, फिल्म - हुगो
-एजेन्सीहरुको सहयोगमा

गुप्ता गन्हाइसके, कति कोट्याउनु ?

उपेन्द्र यादव, अध्यक्ष, मधेसी जनअधिकार फोरम नेपाल
प्रसङ्ग गुप्ताबाटै सुरु गरौं न ।
- गुप्ता कुहिसके, गन्हाइसके, नालीमा गइसके । त्यो दुर्गन्धलाई कति कोट्याउनुहुन्छ ? छाडिदिनुस उनको कुरै नगरौं ।
जेपी गुप्ताको पतनमा सबैभन्दा बढी उपेन्द्र यादव खुसी छन् भन्छन् नि हो ?
अहिले देश नै खुसी छ । एउटा भ्रष्टाचारी एउटा अपराधी जेल गयो भने को दुखी हुन्छ र ? त्यो अपराजबाट लाभ पाउनेहरु न दुःखी हुने हुन् । व्यक्तिगत हकमा भन्दा म खुसी पनि छैन, दुखी पनि छैन । किनभने उनी कांग्रेसमा हुँदा गरेका कार्यहरुका लागि अदालतले सजाय सुनाएको हो । गिरिजाप्रसादको शरणमा उनले अकुत सम्पत्ति कमाएका हुन् र त्यो उनको व्यक्तिगत मामिला हो । त्यससँग हाम्रो कुनै सरोकार छैन ।
तपाईले त मिठाई नै बाड्नु भो रे ?
-जनताहरुले बाँडे । उनकै गाउँमा, उनकै जिल्लामा सबैभन्दा ठूलो खुसी छ । किनभने उनलाई सबैले चिनेका छन् नि ।
व्यक्तिगतरुपमा तपाई गुप्ताको जेल यात्राबाट कति खुसी या दुःखी हुनुभयो ?
-यो सामान्य कुरा हो । चिरञ्जिवी बाग्ले जेल गएर सुशील कोइराला किन खुसी हुने, किन दुःखी हुने ? एउटा भ्रष्टाचारी जेल जान्छ भने म किन खुसी हुने किन दुःखी हुने ?
तपाई नै उनीहरुलाई ‘ब्राण्डेड भ्रष्टाचारी’ भन्नुहुन्छ । त्यो थाहा हुँदाहुँदै रातो कार्पेट विच्छ्याएर पार्टीमा भित्र्याउनु भयो र मधेस आन्दोलनको सुनपानी छर्केर चोख्याउने प्रयास गर्नुभयो । त्यतिखेर तपाईलाई थाहा थिएन उनीहरु भ्रष्ट हुन भन्ने कुरा ?
-त्यसको परिणाम हामीले राम्रैसँग भोगिसक्यौं । उनीहरुलाई हामीले सुधि्रन्छन् भनेर रातो कार्पेट विच्छ्याएर पार्टीमा ल्याएकै हो । तर, तीनले त विगार्ने, मधेस आन्दोलनलाई कमजोर बनाउने र पार्टीलाई तोड्ने फोड्ने अनेक काम गरे । उनीहरुले गरेका गलत कामको असर र दुष्परिणाम हामीले भोगिसक्यौं । अहिले साथीहरुले के भन्न थालेका छन-’पार्टीबाट बाहिरै गएर जेल गयो त्यही राम्रो भो, पार्टी कलंकबाट बच्यो ।’

तर, जेपीजीले त मधेस आन्दोलनमा लागेकाले मलाई दण्डित गरिएको हो भन्नुभएको छ नि ?
-यो त दोहोरो चरित्र भयो । आफैँ अदालतमा उपस्थित भएर म सजाय भोग्न तयार छु भनेर लिखित रुपमा कबुल गर्ने, अनि जब प्रहरीको गाडी बढ्ने बेलामा चाँही पत्रकारका अघि चर्को कुरा गर्ने ? भ्रष्टाचारीलाई भ्रष्टाचारीकै रुपमा हेर्नुपर्छ । भ्रष्टाचारीको कुनै जात, धर्म, समुदाय हुँदैन, उनीहरु ‘भ्रष्टाचारी’ मात्र हुन् । फेरि जेपी कहाँबाट मधेसको पक्षमा लडेका थिए र ? पहिलो मधेस आन्दोलन हुँदा त उनी त्यसको बिरोधमा बक्तब्यबाजी गरेर हिडेका थिए । तपाई त्यतिबेलाका पत्रिका पल्टाएर हेर्नुस न ।
जेपी मात्र हैन, अरु ब्राण्डेड भ्रष्टाचारीहरुलाई पनि लाइन लगाएरै भित्र्याउनु भएको हैन र ?
- भ्रष्टै भन्दा पनि पार्टीमा राम्रा नराम्रा धेरै खालका मान्छे आएका छन् । नयाँ पार्टीमा त धेरै मान्छे बाहिरैबाट आउँछन् नि ।
पार्टी छाडेर गएकाहरुलाई भ्रष्टाचारी भनिरहँदा तपाई त्यसबाट अछुत हुनुहुन्छ भनेर कसरी पत्याउने ?
-हामी भनेको धेरै साधारण मान्छे । हाम्रा सबैकुराहरु खुला हुन्छन, लुकाउने ठाँउ पनि छैन् ।
मधेस आन्दोलनपछि काठमाडौंको वत्तिसपुतलीमा साथीहरुले थाहा नपाउन भनेर अर्कैका नाममा घर किन्नुभएको तर, जसको नाममा किनियो उसैले खाइदियो भन्ने चर्चा छ नि ?
-त्यो सौभाग्य त मैले पाउँदै पाइन । -लामो हाँसो)…. । एउटा घर, एउटा पार्टी कार्यालय किन्न पाए हुन्थ्यो भन्ने सँधै लागिरहन्छ । तर, सकिएको छैन । बत्तिसपुतली त मैले राम्रोसँग देखेको पनि छैन् । मलाई थाहै थिएन, तपाईलाई मेरो घर खाई दिएको थाहा रहेछ । बरु मलाई दिलाई दिनुहोस् न । -फेरि लामो हाँसो) ।
मधेस आन्दोलन पहिले र पछि तपाईको आर्थिक हैसियतमा म परदर्शी छु र सार्वजनिक गर्न सक्छु भन्न सक्नुहुन्छ ?
-त्यो सबैकुरा जनतालाई थाहा छ ।
उसो भए पैसा नभएकै कारण तपाईको पार्टी चोइटेको चोइटेकै गर्दो रहेछ हो ?
म सँग पैसा भएको भए त जेपी गुप्ता र गच्छदारले जसलाई पैसा दिएर लगे, उनीहरुलाई मै पैसा दिन्थें । अनि किन जान्थे र ? हाम्रो सबैभन्दा ठूलो समस्या भनेको पार्टीमा फण्डको अभाव हो । धेरै गाह्रो छ ।
तपाईको पार्टी ऋणमा हो ?
ऋण, साँबा, ब्याज भन्दा पनि हामी आर्थिकरुपले ज्यादै जटिल अवस्थामा छौं । धेरै राम्रा योजनाहरु छन् तर आर्थिक अभावका कारण गर्न सकिएको छैन । पहिले पो सभासदहरु थिए, अलिकती स्रोत पनि हुन्थ्यो, अहिले त सभासद पनि थोरै छन् । धेरै गाह्रो छ ।
सत्ताबाट बाहिरिएपछि झनै गाह्रो भएको होला है ?
सत्तामा बस्दा पनि त्यस्तै हो । म परराष्ट्रमन्त्री भएँ, परराष्ट्र मन्त्रालयमा तलब बाहेक कुनै आर्थिक कारोबार हुँदैन । विकास निर्माण, खरिद विक्री केही हुँदैन् ।
तपाई परराष्ट्रमन्त्री हुँदा गच्छदार जी भौतिक योजना तथा निर्माण र गुप्ता जी कृषिमन्त्री जस्तो आर्कषक ठाउँमा हुनुहुन्थ्यो । स्रोत जम्मा भएन ?
उहाँहरुले त जम्मा पार्नु भो तर, पार्टी फुटाउन र आफ्नो पार्टी बनाउन लगानी गर्नु भो । तीनले किन अर्काको पार्टी बनाउँथे र ?
कस्तो विडम्बना- मधेस आन्दोलनको राप र तापबाट उमि्रएका केन्द्रीय सदस्य, सभासद सबै पैसामा बिके भन्नुहुन्छ ?
- सबै पैसामा विके भन्दा पनि कतिपय राजनीतिक भ्रममा जान्छन्, कतिपयलाई मन्त्री बनाइदिन्छु भन्ने जस्ता गलत आश्वासन पनि दिइएको हुन्छ । नभए, मानिलिनुस, मंसँग बस्दा असन्तुष्टि थियो, विजय गच्छदारकहाँ गएपछि त सन्तुष्ट हुनु नि । त्यहाँ पनि कलह छ । जेपी गुप्ता जेल गए, तर, त्यसअघि नै त्यहाँ पनि कलह नै थियो नि । ३/३ महिना, ६/६ महिनामा सरकार बदली हुने कारणबाट पनि अबसर पाइन्छ कि भनेर मानिसहरु जान्छन् । हाम्रो मात्र हैन अरु पार्टीमा पनि यस्तै छ । त्यसैले अहिलेको फुटको मुख्य कारण विचार भन्दा पनि अबसर नै हो । मानिसमा अत्यधिक महत्वकांक्षा र त्यसलाई परिपूर्ति गर्ने साधन श्रोतको सिमितता पनि हो ।
मधेस आन्दोलनमा तपाईका साथमा रहेको युवाहरुले अहिले एक एक गर्दै साथ छाड्दै गएको जस्तो देखिन्छ । एक्लो महसुस गर्नुभएको छैन ?
-आन्दोलनमा देखिएको मास संधै कसैको पछि रहँदैन । ३६ सालको आन्दोलनपछि जनमत संग्रहको घोषणा भयो र एउटा विशाल मास कांग्रेस र कम्युनिष्टको पछि लाग्यो । परिणाम घोषणापछि ठूला आन्दोलन त कहीँ पनि भएनन नि, कहाँ गयो त त्यो मास ? ज्ञानेन्द्र पूर्वाञ्चल, पश्चिमाञ्चल जाँदा एउटा ठूलो भिड पछि लाग्थ्यो, तर ज्ञानेन्द्र झिटीगुन्टा कसेर नागार्जुन जाँदा त कोही पनि साथमा गएनन् । त्यसकारण कुन बेलामा कुन भिड आउँछ र को जान्छ त्यसको आधारमा राजनीति नापिँदैन । आधार भनेको नीति, कार्यक्रम र मुद्धा हो । हिजो आन्दोलन हुँदा हाम्रो पार्टी नै थिएन, सानो जमात थियो । आज गाउँदेखि केन्द्रसम्म हाम्रो नेटवर्क छ । भनेको हिजोको भन्दा त कयौं गुणा हामी अगाडी बढ्यौं ।
पार्टी टुक्रेको टुक्रियै छ, सभासदको संख्या समिति भइसक्यो । अगाडी भन्दा पछाडी गएको पो देखिन्छ त ?
-हैन, भिड भनेको संधै हुँदैन । भूकम्प त संधै आउँदैन नि । जुन बेला आउँछ, कसेर झड्का दिन्छ । त्यसअघि पछि पनि धक्का दिइरहन्छ । तर, सँधै धक्का त दिँदैन नि । त्यसैले राजीतिक पार्टीहरुमा अन्दोलनका बेला जुटेको मास सँधै रहिरँदैन र त्यो मासमा कति जना छ र छैन भनेर नाप्नु गलत हो ।
हामीले जान्न खोजको नि, हिजो आन्दोलनमा युवा मास गियो, आन्दोलन सफल भयो, त्यसपछि चुनावका बेला अरु हृवारहृवार्ति आए । तर, अहिले न हिजोका युवा सारथी रहे न पछि आएकाहरु ?
-त्यसो हैन । अहिले तराईका जिल्लाहरुमा हामीले विशाल कार्यक्रमहरु गरिरहेका छौं । २/४ जना सभासद यताउता हुँदैमा सबै गयो, सिद्दियो भन्नु गलत हो । वास्तविकता के हो भने पार्टी यथावत नै छ, अझ बढेर गएको छ । जुन सभासदको संख्या गणितको थियो, त्यो गणितिय संख्या मात्र हामीले गुमाएका छौं । लुजर हामी त्यहाँ मात्र हौं ।
तपाईबाट छुटि्टएर गएकाहरु अहिले मधेसी मोर्चामा गोलबन्द भएका छन्, सत्तामा छन् । उनीहरुले सेनामा मधेसी भर्ना, नागरिकता जस्ता एजेण्डा पूरा गराउन पहल गरिरहेका छन । एजेण्डा उनीहरुले पूरा गर्ने, भिड चाहिं तपाईको पछाडी लाग्ने । यस्तो पनि हुन्छ र राजनीतिमा ?
-ती सबै फोरमकै एजेण्डा हुन् । फोरमकै आन्दोलनले मुलुकमा युगान्तकारी परिर्वतन ल्याएको हो । जसका नाम तपाईहरु लिँदै हुनुहुन्छ, मधेस आन्दोलनका बेला उनीहरु कोही कांग्रेसका मन्त्री थिए, कोही एमालेका सभासद थिए । मधेस आन्दोलनमा त थिएनन् ।
जहाँसम्म जागिर लगाइदिने कुरा छ, दुई-चार जनालाई जागिर लगाउने हो कि देशै खुसी पार्ने हो ? त्यही जागिर लगाउने काम पनि गर्न सकेको भए त हुन्थ्यो नी । मुद्धा विचार र एजेण्डा हामीसँगै छ । उनीहरुसँग त सत्ता र पैसामात्र छ ।
राजनीतिमा त पैसा र सत्ता भयो भने सब थोक हुन्छ हैन र ? अझ मधेसमा त पैसा र सत्ता नै शक्तिको स्रोत हो भन्छन् ।
हुँदैन । राजनीतिमा विचार भयो भने सबथोक हुन्छ । सहि विचार छ तर, एक्लै हुनुहुन्छ भने चिन्ता नगर्नुस् भोली धेरै साथीहरु हुन्छन् । तपाईसँग विचार नै छैन, मुद्धा नै छैन भने जतिसुकै पैसा र सत्ता भएपनि त्यो क्षणिक हुन्छ । पछि सबैले छोड्छ र एक्लै हुनुहुन्छ । राणाहरुपछि सबैभन्दा लामो समय त मरिचमान प्रधानमन्त्री भए, खै त ? ज्ञानेन्द्रसँग सत्ता, पैसा, सेना के थिएन ? तर, जाने बेलामा त झिटिगुण्टा मात्र लगे ।
जेपी गुप्ताको पतनपछि अब मधेसको नेतृत्व कस्ले लिन्छ, उपेन्द्र कि गच्छदार भन्ने प्रश्न उठेको छ नि ?
यसलाई व्यक्तिमा केन्द्रीत गरेर नहेरौं । जोसँग विचार हुन्छ, त्यही अगाडी बढ्छ ।
अब फुटेर गएकाहरुसँग एकताको पहल गर्नु हुन्छ ?
नेपालमा कम्युनिष्ट पार्टी ६७ चोटी फुट्यो । कांग्रेस २७ पटक टुक्रियो, शेरबहादुर देउवा लास्ट एपिसोड थियो । तर, ती टुक्रिएकाहरु कहाँ पुगे ? अंक पनि भेट्टाउन गाह्रो छ । सभासदहरु हुँदैमा ठूलो हुने र जाँदैमा सानो हुने भन्ने हुँदैन । पार्टी एकता असम्भव हैन तर, तत्कालै सम्भव छैन ।
तपाईलाई माओवादीसँग नजिक भएको आरोप लाग्छ नि ?
-यस्तो आरोप पार्टी फुटाउने बेला मात्र काम लाग्छ । पार्टी फुटाएपछि त उनीहरु नै माओवादीको शरणमा गए । त्यसपछि उपेन्द्रभन्दा बढी नजिक हामी भएछौं भन्नु पथ्र्यो नि ।
यथर्थता के हो भने यो मुलुकको परिर्वतानकारी शक्ति भनेको माओवादी र हामी हौं । मधेस आन्दोलन र माओवादी जनयुद्ध नभएको भए ज्ञानेन्द्रले डण्डाले पेलेर राजनीति गथ्र्यो । त्यो परिर्वतनलाई निष्कर्षमा पुर्‍याउनु पर्नेमा परिर्वतनकारी शक्तिहरु लडे भने प्राप्त उपलब्धीहरु सिद्दिन्छ । त्यसैले परिर्वतनलाई निष्कर्षमा नपुर्‍याउँदासम्म परिर्वतनकारी शक्तिहरु आपसमा लड्नु हुँदैन ।
गौर घटना चाँही लडाई नै थियो हैन ?
त्यो दुर्भाग्यपूर्ण दुर्घटना हो ।
माओवादीले त तपाईलाई मुख्य योजनाकार र मतियारको आरोप लगायो, तपाई लुकेर वस्नुपर्ने अबस्था पनि आयो , तर अहिलेसम्म त्यो आरोपको राजनीतिकरुपले प्रतिबाद नै गर्नुभएन ?
-माओवादीले अहिले रियलाइज गरिसकेको छ । ‘विगतमा गलत सुचनाका आधारमा केही सोंच बनाइएको थियो’ भन्ने महसुस उनीहरुले गरेपछि यसलाई कोट्याउन आवश्यक छैन ।
व्यक्तिगत रुपमा तपाई र प्रचण्डको सम्वन्ध सुमधुर छ भन्छन् नि ?
नेपालको राजनीतिमा कसैसँग पनि मेरो सम्वन्ध नराम्रो छैन, सबैसँग सुमधर नै छ । तर विचारका आधारमा फरक छ । विचारका आधारमा हामी दुई ध्रुवमा छौं ।
तपाईले माओवादी चाँही किन छाड्नु भएको हो ?
जब समातेकै थिएन भने छाड्ने कुरा किन आउँछ ? म कहिल्यै माओवादी भइन तर, एक समयमा मैले राम्रैसँग सहयोग गरेको हो । म माओवादीको कार्ड होल्डर भइन । त्यसबेला म एमाले नै थिएँ । मैले सहयोग चाहिं राम्रै गरेको हुँ । किन सहयोग गरेँ भने माओवादी गणतन्त्रका लागि लडेको हो । र त्यतिवेलाको परिर्वतनका लागि लडेको हो ।
भनेपछि इतिहासमा तपाई कहिल्यै पनि माओवादी हुनुहन्थेन ?
म माओवादी थिएँ भन्नु मनगढन्ते कुरा हो । मैले सहयोग गरें, केही समय सहयात्रा पनि भयो । त्यस्तो सहयाात्रा अरु कम्युनिष्ट पार्टीसँग पनि भयो ।
माओवादीसित लामो सहयात्रा गर्नुभयो तर, अन्त्यमा पार्टी नै छोड्नु भो किन ?
मैले नेपालका कम्युनिष्ट पार्टीका धेरै नेताहरुसँग काम गर्ने सौभाग्य पाएँ । मलाई पुष्पलालले सदस्यता दिएका हुन् । तुलसीलाल, मनामोहन, मदन भण्डारी हुँदै राजाका पाउमा दाम राखेर ढोग्नेसम्मसित सहयात्रा भयो । बाबुराम, प्रचण्डसँग पनि संगत गरें । मैले नेपाली कम्युनिष्ट पार्टीका सबै ब्राण्ड र भेराइटीका नेताहरुको क्यारेक्टरलाई राम्रोसँग बुझ्ने मौका पाएँ । र म के निष्कर्षमा पुगेँ भने नेपालमा आइडोलोजी, क्यारेक्टर र प्राक्टिसमा कोही पनि कन्युनिष्ट भएटिएनन् । अहिले एमाले र कांग्रेसको पार्टीको बाहिरको कभरको पार्टीको चिन्ह हटाइदिनुस् त के फरक छ ? अब त्यही बाटोमा माओवादी विस्तार विस्तारै जाँदैछ । तत्काललाई त्यता जान गाह्रो देखिएको मात्र हो ।
मधेसबादी दलहरुलाई अक्सर भारत परस्त भनिन्छ । किन होला ?
पहिले म कम्युनिष्ट पार्टीमा काम गर्दा जो सँग रिस उठ्छ उसलाई सीआईएको एजेण्ट भनेर गाली गथ्र्यौं । रिस उठेका बेला त जे भनेपनि भो तर, यथार्थ त्यस्तो होइन । अहिले बाबुराम, माधवकुमार तथा पहिला मात्रिकाप्रसाद कोइरालासम्म कसरी प्रधामन्त्री बने ? मधेसीलाई गाली गरिन्छ तर, गैरमधेसीहरु कहिले काँही त नेपाली हुँ भन्ने पनि बिर्सन्छन् । उनीहरु हिन्दीमा भट्याउँदै ‘हामारा जन्म कान्याकुब्जमे हुवा था । हाम कान्याकुब्जी ब्राम्हण हे, हामारा पुर्वजओका जन्म कुमाउँ गढबलमा हुवा था, इसिलिए हाम कुँमाई ब्राम्हण हे । हाम और आप उपाध्याय हे और एक हि हे’ भनेर व्याख्या गरेको पनि यही कानले सुनेको छु । प्रधानमन्त्रीकै चुनावअघि माधव नेपालले मेरो जन्म सितामढिमा भएको हो किन भने ? त्यसकारण केहीले मधेसीलाई बदनाम गर्ने तर कुर्कम जति आफै गर्ने गर्छन् ।
तर, भारतबाट आउने नेताहरुले पनि मधेसीहरुसँग खानपिनसहित वेग्लै भेट्ने, अलिक बढी स्नेह देखाउने गर्छन् नि ?
-कसले कसलाई कहाँ भेटे त्यो अलग कुरा हो । तर यर्थाथ त्यस्तो हैन । यो भनेको एउटा मधेसीलाई बदनाम गर्ने र अर्को एन्टी इण्डियन सेन्टिमेन्टका आधारमा पहाडी जनमानसलाई दिगभ्रमित गर्ने ‘अल्ट्रा लेफ्ट’हरुको रणनीति हो । यता एक थोक र पारी गएपछि अर्को कुरा बोल्ने गरिन्छ । उनीहरु सुविधा अबसरका लागि त्वमं शरणम् गरेर आत्मसमर्पण गर्ने गरेका छन् ।
तपाईले प्रचण्डलाई साथ दिएपछि दक्षिणी मित्रहरु रिसाएको र पार्टी फुटनुमा पनि उतैको हात रहेको चर्चा भयो । तपाईले पनि अनौपचारिक रुपमा त्यही कुरा बताउनुभयो रे ?
-त्यो भएको भए त बाबुराम प्रधानमन्त्री नै नबन्नु पर्ने । दक्षिण र माओवादीको सम्वन्धलाई विश्लेषण गर्ने हो भने माओवादी यत्रो शक्तिशाली हुनुमा दक्षिणको पनि ठूलो हात छ । के के भूमिका छन् अहिले नै बाहिर नल्याउँ तर, दक्षिण र माओवादी टाढाका विषय हैनन् । विचमा सामान्य ठाकठूक मात्र भएको हो ।
पुष्पलाल, एमाले, माओवादी हुँदै फोरमसम्मको राजनीतिक यात्रा गरिसक्नु भएको छ। कुनै यस्तो निर्णय छ, जसप्रति अहिले पनि गहिरो पश्चाताप छ ?
-कहिले काँही बढी आशाबादी हुनाले मान्छले दुःख पाउँछ । हामीले विजय गच्छदार र जेपी गुप्ता जस्तालाई पार्टीमा ठाउँ दिनु ऐतिहासिक भूल नै थियो भनेर हामीले स्वीकार गरेका छौं । त्यसो नगरिएको भए आजको परिस्थिति फरक हुन्थ्यो ।
तर, तपाईको उचाई निर्माणमा जेपी गुप्ताको ठूलो भूमिका छ भन्नेहरु पनि छन् नि ?
-त्यो तपाई विश्वास गर्नुहुन्छ ? । मान्छेले त त्यस्ता पा पापीहरुलाई गंगाजल छर्केर शुद्ध पार्नु भयो भन्छन मलाई । जेपीलाई त मैले सप्तरीको आफ्नो क्षेत्रबाट उठाएर जिताएको हुँ । कसैले पनि जेपीलाई भोट हाल्न मानेको थिएन् । मेरो ठूलो परिवार छ, उनीहरुलाई भनेर, म आफैं मतदान केन्द्रमा पुगेर जेपीलाई जिताउन लागेको हुँ ।
 online khabar bata

Wednesday, February 1, 2012

ईन्टरनेट र फेसबुकको अश्लिल फोटो मेरो होइनः अञ्जु पन्त


नेपाली सुगम संगीतको क्षेत्रमा पछिल्लो समयमा निक्कै चर्चित नाम हो । कहिले आफुले गायका गीतका कारण कहिले पारिवारिक सम्बन्ध र कहिले व्यक्तिगत जीवन शैलीका कारण चर्चामा आइरहने अञ्जु पन्तसँग गरेको कुराकानी  ।
गीत रेकर्डिङ्गको काम धेरै छ । अनि स्टेज प्रोगाममा पनि निक्कै व्यस्त छु । एक दुई महिना अघि म बिरामी भएँ थलै परे । त्यतिवेला देखि थुपि्रएका गीत पनि गाउन बाँकी छन् । तिनै गीत गाइरहेकी छु ।
डिभोस्र ! भनौं र ? यो जीवनको आ-आफ्नो पाटो हो । जीन्दगी सरल रुपमा बिताउनु पर्छ भन्ने मेरो बुझाई हो । अहिले अलिकति अप्ठ्यारो महशुस भयो र हामी छुट्टियौं ।
अँ पुनर्मिलन चाहिं थाहा छैन । भोलीको दिन कसैले देखेको छैन । हिजोको दिनमा थाहा थियो होला त ? हामी दुईजना यस्तो मिल्ने मान्छे छुट्टिन्छौ भनेर । पहिले पहिले कति माया आदर सत्कार गर्नुहुन्थ्यो उहाँले । तर पछि सवै .. खै......|
हो मैले पनि विभिन्न कुरा सुनें । अहिले धेरै नराम्रा फोटा पनि एनिमेशन गरेर इन्टरनेटमा राखिएका छन् रे । कसले गर् यो मलाई थाहा छैन । यस्तो फट्याईले गर्दा हाम्रो ज्यान जान सक्छ । त्यसैले फेसबुक एकाउण्ट र ती इन्टरनेटमा राखिएका फोटा मैले राखेको होइन । मैले चलाउँदै आएको सिङ्गर अञ्जु पन्त नामको फेसवुक एकाउण्ट पनि बन्द गरिदिएँ ।
समय बलवान छ । समयले देखाउँछ । म एकदम हिटमा आएको भनेको चार बर्ष त भयो । मैले पनि एघार बाह्र बर्ष यो क्षेत्रमा समय दिएकी थिएँ । त्यसैको फल हो जस्तो लाग्छ । तर अरु साथी पनि निरन्तर लागिरहनु भएको छ । उहाँहरु पनि एकदिन पक्कै राम्रो स्थानमा पुग्नुहुन्छ ।
एकदमै धेरै छन् । ति मध्ये एक दुईटा भन्छु जस्तै मेरा आशक्तिका भावना तिमीले बुझ्न सकेको भए ……, अर्को जीन्दगी यो फूलै फूलको थुङ्गो हुँदैन ………, यसले जीन्दगीलाई छोएको जस्तो लाग्छ । यी गीत गाउँदा मेरो मन भक्कानिएको थियो ।
सुगम संगीत एकदमै फस्टाएको छ । एउटै गीतबाट लाखौ रुपैयाँ कमाउन सकिन्छ । तर एउटा कुरामा मेरो चित्त दुखाई छ । प्रविधि बढ्यो तर कम्पनीहरुले कसैलाई पनि राम्रोसँग रोयल्टी र पारिश्रमिक दिएका छैनन् । गीत संगीतका सर्जकले सोचे जस्तो कमाउन सकेको छैनन् । सर्जक गरिव हुँदै छौं । हामीले नै गरेका कामबाट फाइदा लिएर अरु धनी हुँदै छन् ।
जस्तो पहिलो कुरा त हाम्रो देश नै सुदृढ छैन । बिदेशतिर हामीले पैसा मागि रहन पर्दैन । हामीले रोयल्टी सजिलै पाउँछौं । बैंकको खातामै पैसा हाल्दिन्छन् । तर यहाँ त नाम बढि दर्शन छोटी भने जस्तै भा'छ । अन्तर्वार्ता दिंदा कुनै चलेका होटलमा खाना खान जाँदा पनि बिदेशमा रोयल्टी दिन्छन् । त्यसैले नेपालमा चल्दा मात्रै पैसा कमाउने हो भविष्य सुनिश्चित छैन ।       
मैले पैसा त त्यस्तै हो मलामी नै धेरै कमाएँ क्यारे । 
अँ म लगभग १५ वटा देशमा पुगे । धेरै नेपाली स्रोताले माया गर्नुहुन्छ । विदेशमा जाँदा आफ्नै परिवारलाई भेटे जस्तो हुन्छ । 
अव म तिहार ताका साउदी अरेविया इजरायल र दक्षिण कोरिया जाने योजनामा छु ।
-जीन्दगी भनेको मिठो फल हो गिफ्ट हो हामीलाई प्रभुले दिएको । त्यसैले यसलाई अनादार गर्न मन लाग्दैन । जे हुन्छ जीन्दगीमा राम्रोको लागि हुन्छ । जस्तो अस्ति भर्खर भुईंचालो गयो म स्टुडियोमा गीत रेकर्डिङ्ग गर्दै थिए । म चुकुल लाएर स्टुडियो भित्रै बसें । घरै हल्लियो तर मलाई डर लागेन । अरु चप्पलै नलाई भागे म भने प्रभुको प्रार्थना गरेर बसे ।
अँ क्रिश्चियन धर्ममा मेरो सानै देखिको लगाव हो । जहाँ शान्ति मिल्छ त्यही धर्म मान्ने हो । धर्म त सवै त्यस्तै हो । तर सवै भन्दा श्रेष्ठ येशु नै हो । तर कतिपय मेरो यो कुराले रिसाउनुहुन्छ होला । अरुको देशको धर्म मान्ने रैछ नभन्नु होला । शान्तिको लागि येशुको प्रार्थना गर्छु म ।
"पोहोर साल खुशी फाट्दा जतन गरि मनले टाँले त्यही साल माया फाट्यो त्यसलाई पनि मनले टुले यसपाली त मनै फाट्यो केले सिउँने केले टाल्ने हो ।" यस्ता गीत मन पर्छ । यो अरुणा लामाको गीत हो है ।
यो मायाको रुप पनि हो । अहिले त बिकृति धेरै छ । कतिले नराम्रो पनि गरेका छन् । मलाई चाहिं यो प्रभुले दिनु भएको धेरै ठूलो चिज हो भन्ने लाग्छ । यो त आफ्नो मन पर्ने मायालुलाई सुम्पिने चिज हो र सृष्टि चलाउने अनी मायालाई मजबुत राख्ने सम्बन्ध हो ।
                  

मेरो क्यारेक्टरले अहिलेको जेनेरेशनलाई प्रिजेन्ट गर्छः नायिका नम्रता



नेपाली सिने क्षेत्रमा कहिले व्यक्तिगत कारण त कहिले चलचित्रले चर्चामै हुनुहुन्छ । अध्ययन गरेकी र अभिनय क्षमता भएकी नायिकाका रुपमा नम्रतालाई लिने गरिन्छ । केही समय नेपाली चलचित्रमा नदेखिएकी नम्रता अहिले सुटिङमा व्यस्त हुनुहुन्छ । प्रस्तुत छ नायिका नम्रतासँग गरेको कुराकानीः
– अहिले भर्खरै एउटा मुभी सिध्याएँ । अब बैशाख जेठतिर अर्को गर्दैछु 
–धेरै राम्रो, ट्यालेन्टेड मान्छे आइरहेका छन् फिल्म क्षेत्रमा । डेफेनेट्ली अब नेपाली चलचित्र क्षेत्रमा उहाँहरुको योगदान रहनेछ । आइएम पोजिटिभ एबाउट इट ।
 

–अहिले त बिस्तारै चेञ्ज भैराछ । सबैले फिल्मको महत्व बुझ्नु भाको छ । त्यही हो सबै जना मिलेर काम गरिरहेका छौं । केही राम्रो गर्न मिहिनेत पनि जरुरी छ । फिल्म पनि बिजनेश नै हो । फिल्म चले फेरी बनाउने नचले नबनाउने भन्ने हुँदैन ।
 
–हालको कुरा गर्ने हो भने त निक्कै राम्रा सिनेमा बनेका छन् । नेपाली फिल्म पुरानै पाराले अघि बढेको छ भन्ने मलाई लाग्दैन् । अहिले पनि दुई तीन वटा फिल्म रिलिजको तयारीमा छन । गाना, फाइटलाई प्राथमिकता नदिइकन रियालिष्टक फिल्म धेरै बनेका छन नेपालमा पनि । तपाइँले भने जस्तै यसलाई नै पिन पोइन्ट गर्न मिल्दैन ।
 
–अँ, मेरो भूमिका त एउटा इन्डिपेन्डेन्ट नेपाली नारीको छ । जो देश बाहिर बसेर देश चिनाउने प्रयासमा हुन्छ । र, अहिलेको जेनेरेशनलाई प्रिजेन्ट गर्छ मेरो त्यो क्यारेक्टरले । यो रोल गर्दा मलाई रमाइलो पनि भयो । आशा छ दर्शकले मन पराई दिनुहुनेछ ।
 
– अब फिल्म बनाउँदा त कस्ले नचलोस भनेर बनाउछ र ? जहाँ सम्म राम्रो चल्छ । लेट्स सी ।
 
– भगवान भन्दा पनि एउटा डिभाईन पावर छ भन्ने लाग्छ । भगवान पनि हामीले नै नाम दिएको हो नि । जे होस् डिभाईन पावर छ ।
 
– रिल लाइफमा डाइरेक्टरले जे भन्यो त्यही गर्नुपर्छ रियल लाइफमा तपाईलाई जे मन लाग्यो त्यही गर्न पाउनुहुन्छ । रियल लाइफको भोगाइ नै रिल लाइफमा उतार्ने हो भन्ने लाग्छ मलाई ।
 
–मलाई थाहा छैन । एक्टर भनेको त फिल्ममा देखि हाल्छ नि । राम्री मात्रै भएर काम लाग्दैन । एक्टर भएर एक्टिङ्ग नै भएन भने त मतलव नै भएन नि ।
 
– सौगात मल्ल, अनि पुरानो एक्टरमा शिव श्रेष्ठ । हिरोइनमा तृप्ति नाड्कर ।

Wednesday, January 25, 2012

टिस्टुङमा यसरी समातिए डिआइजी

सुन्दर खनाल, टिस्टुङ (मकवानपुर), माघ ११- सुनिता दोङ गत शनिबार साँझ पाँच बजेतिर पति सूर्यसँग मोटरसाइकल चढेर आइरहेकी थिइन्। उनले एउटा अग्लो र मोटो मान्छे ठ्याक्कै त्यही मोडमा देखिन्, जहाँ गत पुस २८ गते एउटा शवका जलेको अवशेष फेला परेको थियो।
अलि वरैबाट पहिलो दृष्टि पर्दा त्यो मान्छे भीरपट्टिको बाटोछेउ दुई रुखबीच पश्चिमतिर फर्केर पिसाब फेरिरहेको थियो। यता बाटोको भित्ता च्यापेर रोकिएको थियो, खैरो रंगको कार।
मोटरसाइकलमा अलि अगाडि बढ्दा त्यो मान्छे पहिलेभन्दा फरक अवस्थामा देखियो। ऊ हतासिएर दायाँबायाँ हेरिरहेको थियो। घरि टाउकोमा हात लगाउँथ्यो, घरि केही पाइला हिँडेर शव भेटिएको भागतिर फर्कन्थ्यो, अनि थचक्क बस्थ्यो।
त्रिभुवन राजपथस्थित मेत्राङको त्यो फराकिलो मोडमा एउटा नौलो मान्छे त्यस्तरी छटपट गरिरहेको देखेर टिस्टुङ-३ नौखण्डेकी सुनिताको मनमा चिसो पस्यो। उनले तत्काल मोटरसाइकल हाँकिरहेका सूर्यलाई रोक्न भनिन्। उनीहरू दुवै करिब सय मिटर परबाट रुखहरूको छेको परेर त्यो मान्छेको गतिविधि नियाल्न थाले।
घरबाट नौबिसेतर्फ दुई किलोमिटर परको झाप्रेमा एउटा पारिवारिक विवाद मिलाएर फर्किरहेकी सुनिताले शंका गरेकी अनौठो अवस्थाका ती व्यक्ति थिए, सशस्त्र प्रहरीका डिआइजी रञ्जन कोइराला।
यी दोङ दम्पती शंका लागेर पनि चुपचाप आफ्नो बाटो लागेको भए कुरा अर्कै हुनसक्थ्यो। तर, उनीहरू थप दस मिनेट त्यहीँ रोकिएर हेरिरहे। दुवैले यस्ता गतिविधि देखे, जसले रञ्जनको दस दिनअघि भेटिएको शवसँग केही न केही 'शंकास्पद' सम्बन्ध छ भन्ने संकेत दियो।
रञ्जन पहिले उभिएको छेउबाट केही मिटर पर गएर कान्लातिर ओर्ले, जहाँ उनले आफ्नी श्रीमती गीता ढकालको शवको जल्न बाँकी भाग खसालेका थिए। फेरि उनी माथि आए र अलि पर गएर तलै ओर्ले, जहाँ अर्को अवशेष फालिएको थियो। ओर्लंदा, उक्लँदा प्रत्येकचोटि उनी हतासिएर दायाँबायाँ हेर्थे। त्यसपछि पनि उनी शव जलाएकै ठाउँ वरपर घुमिरहे, जहाँ २८ गते हातका हड्डी, घडी लगायत शरीरका केही अवशेष बरामद भएका थिए।
स्थानीय सुनागाभा महिला सञ्जालकी अध्यक्ष रहेर घरव्यवहारसँगै सामाजिक काममा व्यस्त सुनिताले तुरुन्त अर्का स्थानीय मंगल तामाङलाई फोन गरिन्। नौखण्डेमा सुविन स्टुडियो चलाएर बसेका सामाजिक कार्यकर्ता मंगल तुरुन्त साथी चन्द्रलाई लिएर मोटरसाइकलमा आए।
दोङ दम्पत्ती मंगललाई कुरेर बसिरहँदै रञ्जन भने आफ्नो कारमा नौखण्डेतर्फ हुइँकिए। सुनिताले फेरि हतारहतार मंगललाई फोन गरिन्। कारको रंग बताइन्। नौखण्डेवरै रञ्जनको कारले मंगलको मोटरसाइकल 'क्रस' गर्‍यो। उनीहरू कार पिछा गर्ने सल्लाह मात्र गर्दै थिए, रन्जनको कार फर्किरहेको देखियो। कार विपरीत लेनबाट आइरहेको थियो, मंगलको मोटरसाइकललाई ढेप्ने गरी। सूर्यले मोटरसाइकल बाटोमा तेर्स्याए। कार सुस्त भयो, तर रोकिएन। मंगलले सिसा खोल्न भनेर कराए। रञ्जनले सिसा खोले, तर कार रोकिएन। मंगलले सुस्तरी गुडिरहेको कारभित्र हातै छिराएर चाबी थुते। बल्ल गाडी रोकियो।
नौबिसेबाट २५ किमी दुरीमा रहेको त्यो मोडमा रञ्जन कारबाट बाहिर निस्कँदा पसिनाले चिटचिट देखिन्थे।
'तपाईं किन तुरुन्त फर्कनुभएको?' मंगलले ठाडै सोधे।
'रात पर्‍यो, तेल पनि सकियो। हेटौंडा जाउँ भनेको, अब फर्कन्छु काठमाडौं,' उनले सम्हालिन खोज्दै भने।
'इन्डिकेटरमा आधा पनि नसकिएको देखिन्छ। आफ्नै छेउमा बोतलमा तेल राखिरहनुभएको छ त? हामीलाई पनि ड्राइभिङ थाहा छ। झुट कुरा गर्ने?'
पहिलो झट्कामै रञ्जन चुप भए।
'तपाईं यहाँ के गरिरहनुभएको थियो, किन तलमाथि गर्नुभयो। के खोजिरहनुभएको थियो? तपाईंमाथि हामीलाई शंका लाग्यो।'
रञ्जनको बोली लरबरिँदै थियो।
'म पिसाब फेर्दै थिएँ,' उनले बल्लबल्ल भने।
'तपाईं पिसाब फेरेर फेरि किन तल ओर्लनुभयो।'
'दिसा आयो अनि।'
'दुईचोटि तलमाथि गर्नुभो त?'
'दिसा गर्ने ठाउँ नपाएर।'
'कहीँ मान्छे पहिला पिसाब गरेर अनि दिसा गर्न जान्छ। एकैचोटि गर्छ नि,' मंगलले चेपे।
रञ्जन अवाक् भए।
एकोहोरो प्रश्नले रञ्जनको नियन्त्रण गुम्दै गएको थियो। उनी टाउको समातेर 'मलाई मात्र के हुन्छ' भन्दै यताउता गर्न थाले। कान्लातिर हुत्तिन खोज्थे, फेरि फर्कन्थे। घरि सामान्य बन्ने प्रयास पनि गर्थे।
'तपाईंहरूले के मलाई यो जंगलको बीचमा लुट्न खोज्नुभएको?' उनले भने, 'मसँग भएको पैसा लैजानुस्, मलाई आफ्नो बाटो लाग्न दिनुस्।'
'यो जंगल रे, जंगल भएको भए ऊ त्यहाँ, त्यहाँ घर हुन्छ? हामी यही गाउँका मान्छे हौं, यहाँ विभिन्न घटनालाई लिएर हामी अनुसन्धान गर्दैछौं। तपाईंमाथि पनि अनुसन्धान गर्नुपर्‍यो,' मंगलले तुरुन्तै कुरा काटिदिए।
हतास र हड्बडाहटबीच रञ्जनले आफू पनि प्रहरी नै भएको बताउन थाले। कहाँ-कहाँ के-के भइरहेको छ बुझ्ने, अनुसन्धान गर्ने आफ्नो काम भएको दलिल प्रस्तुत गर्न खोजे। अपराध महाशाखाबाट आएको, अपराधी भाग्न नसकोस् भन्ने आफ्नो उद्देश्य रहेको र त्यसमा स्थानीयले सहयोग गर्नुपर्ने उनले बताए। 'प्रहरी भए किन डराइरहेको त' भन्ने प्रतिप्रश्नमा उनी फेरि केही बोल्न सकेनन्।
यसैबीच रञ्जनले सशस्त्र डिआइजीको कार्ड देखाए। मंगललाई कार्ड नक्कली हुनसक्छ भन्ने लाग्यो। 'कार्ड म अहिल्यै जे को पनि बनाइदिनसक्छु, तपाईं अनुसन्धानकै मान्छे भए गर्नोस् आफ्नो काम, तर हामी पनि तपाईंमाथि अनुसन्धान जारी राख्छौं,' मंगलले भने।
त्यतिबेलासम्म घटनास्थलमा संदिग्ध मानिस फेला परेको खबर इलाका प्रहरी कार्यालय पालुङमा भइसकेको थियो। प्रहरी नआउञ्जेल स्थिति सामान्य राख्नु थियो। उनीहरूले त्यहीँ दाउरा जम्मा पारेर आगो बाले। रञ्जनलाई पनि 'नजिक आएर ताप्नोस्' भने। आफूलाई डिआइजी भन्ने मान्छेसँग हतियार हुनसक्छ, प्रयोग गरेर क्षति पुर्‍याउनसक्छ भन्ने डर मंगल र सूर्यको मनमा पस्यो। उनीहरूले दाउरासँगै ढुंगाहरू जम्मा पारे।
'हेर्नोस्, किन अरूलाई दुःख दिनुहुन्छ, कहाँ जानुपर्छ सँगै जाउँ, हिड्नोस् मेरै गाडीमा,' रञ्जन भन्दै थिए। त्यो कुरा मंगललाई झन् शंकास्पद लाग्यो।
डिआइजीको परिचयपत्र देखाइसकेपछि छाडिदेलान् भन्ने आस रञ्जनलाई रहेछ। 'हेर्नोस् मेरो परिचय दिइसकेँ, मलाई अब त छोड्नु होला नि! दिनोस् चाबी,' यसो भन्दा उनले मंगल र सुनिताको खुट्टा समाए।
उनी कहिले प्रफुल्ल बन्न खोज्थे। यसरी नै पहिला पनि केही गाडीलाई अनुसन्धान गरिसकेको मंगलको कुरा सुनेर रञ्जनले उल्टै फुर्क्याउन खोजे, 'तपाईंहरू गाउँका जागरुक युवा। राम्रो काम गर्न खोज्नुभएको छ। अपराधी भाग्न सक्छ, प्लिज मलाई जान दिनोस् काममा। म भोलि चाइना जान लागेको मान्छे।' उनले चीनमा तालिम गर्दाका कागजात पनि देखाएका थिए।

मंगललाई त्यसबेलासम्म 'यिनी अपराधी नै हुन्' भन्ने लागिसकेको थियो। उनी त्यहाँ पक्कै प्रमाण नष्ट गर्न आएका हुन् भन्ने मंगलले ठहर गरे। विस्तारै अरू थुप्रै गाउँलेहरू जम्मा हुन थाले।
स्थानीय किरण आले लगायतले उनलाई कडा लवजमा हप्काए। उनी लुरुक्क परेर कारमा छिरे। ड्राइभिङ सिटमा बसेर आलसतालस पर्न थाले, स्टेयरिङमा टाउको ठोक्न थाले। डेढ घन्टा लामो संवादपछि प्रहरी टोली आइपुग्यो, नायब निरीक्षकको नेतृत्वमा। प्रहरीको रोहवरमा कार खोलियो। रञ्जनको सानो ब्याग खोल्दा त्यहाँ सशस्त्र प्रहरीको तलब बुझेको स्लिप र हिमालयन बैंकको स्टिकरले बेरेका एक लाख रुपैयाँभन्दा बढीको नोटको बिटो निस्क्यो।
स्लिप देखेपछि रञ्जन डिआइजी नै भएको पक्का भए पनि मंगलको शंका मेटिएन। उनले प्रहरीलाई कारभित्रका सबै चिजको सूची बनाउन लगाए। सिटसँगै राखेको पेट्रोल, पछाडि सिटमा राखेको प्लास्टिक रोल र अगाडि ड्यासबोर्डमा राखेको ६ बट्टा सलाई समेत सूचीमा लेखाए।
रञ्जनको बा८च ५४०८ नम्बरको कार एकजना प्रहरीले चलाएर लगे। रञ्जनलाई त्यहाँबाट पालुङ चौकी लगिए पनि मंगल र उनका साथीहरूको मनबाट संशय हटेन। पहुँचवाला मान्छे दबाब लगाएर छुट्नसक्छ भन्ने लागेर उनले नायब निरीक्षकलाई सचेत गराए- 'यदि छोड्नैपर्ने स्थिति आयो भने हामीलाई पाँच मिनेटअघि फोन गर्नोस्। त्यसपछि के गर्नुपर्छ हामी गरौंला।'
नायब निरीक्षकले त्यही कुरा चौकी इन्चार्ज इन्सपेक्टर डिल्लीप्रसाद मैनालीलाई भन्न लगाए। मंगलले मैनालीलाई फोनबाटै सचेत गराए। यति भन्दाभन्दै साढे नौ बजे रञ्जनलाई पालुङ प्रहरीले छाडेको थाहा पाएपछि मंगलले मैनालीलाई फोन गरे। मैनालीले उनी निर्दोष भएको दाबी गर्दै 'माथिको आदेशमा छाड्नुपरेको' जवाफ दिए। मंगलले फोनमै विवाद गर्न थालेपछि मैनालीले 'जिल्ला एसपीलाई फोन गर्नू' भने।
मकवानपुरका प्रहरी प्रमुख एसपी श्याम खड्कालाई राति साढे १० बजे फोन गर्दा मंगलले उल्टै खप्की खानुपर्‍यो। 'तपाईंहरूले जे गर्नुभो, निगरानी गर्नुभो, राम्रै भयो, तर डिआइजीलाई दुःख दिएर गल्ती गर्नुभयो,' श्यामले भने, 'जनपदबाट गएको मान्छे, हाम्रै साथी हो, कहाँ अपराध गर्नसक्छ।'
'तपाईं जेसुकै भन्नोस्, त्यो अपराधी हो। तपाईं जे गर्नोस्, हामी छोड्नेवाला छैनौं,' मंगलले जवाफ दिए।
एसपी खड्कासँगको यो संवादपछि मंगललाई निद्रा लागेन। उनलाई आफूमाथि केही हुने हो कि भन्ने डर लाग्यो। काठमाडौंमा भएका साथीहरूलाई घटनाक्रम बताउँदै फोन गर्न थाले। राति नै साथीहरूले घटनाबारे मानवअधिकारकर्मी, महानगरीय प्रहरी अपराध महाशाखा लगायत उच्च प्रहरी निकायहरूमा खबर पुर्‍याइदिए। साढे १२ बजे उनलाई काठमाडौंबाट 'ढुक्कले सुत्नोस्' भन्ने खबर आयो। उनी निदाउन मात्र के लागेका थिए, एसपी खड्काले फोन गरेर अर्कै कुरा गरे।
'तपाईंहरूले जे गर्नु भो राम्रै गर्नु भो, त्यो मान्छे हामीसँग भए बराबरकै अवस्था हो। नआत्तिनोस्,' उनले मंगललाई आश्वस्त पार्न खोजे।
मंगलले काठमाडौंका साथीहरूलाई घटनाक्रम नबताएको भए पनि कुरा अर्कै हुनसक्थ्यो। रञ्जन त्यतिखेर प्रहरीको पन्जाबाट छुटेर हिँडिसकेका थिए।
भोलिपल्ट बिहान मंगल लगायत केही युवा पालुङ चौकीमै गए, डिआइजी रञ्जनको अवस्था खुलाउन माग गर्दै। उनीहरूले रञ्जनलाई जनतामाझ उपस्थित नगराएको खण्डमा अप्रिय स्थिति बन्ने चेतावनी दिए। त्यहीबेला रञ्जन काठमाडौतर्फ फर्कंदै गर्दा थानकोटबाट समातिएको खबर आयो। उनीहरू घर फर्के।
पुस २७ गते राजधानीको बुढानिलकन्ठस्थित आफ्नै निवासमा पत्नी गीताको हत्या गरी रञ्जनले उनको शव त्रिभुवन राजपथको मेत्राङ पुर्‍याएर जलाएका थिए। माघ ७ गते फेरि गीताको शव जलाइएको ठाउँ पुग्दा नौखण्डेका स्थानीयले रञ्जनलाई र्‍याखर्‍याखती पारेका थिए।
(त्रिभुवन राजपथको मेत्राङस्थित घटनास्थलमा मंगल, सूर्य र सुनितासँग गरेको कुराकानीमा आधारित। )
 
यसपटक महाभारत पर्वतशृखंलामा रहेको यो सानो बजार ल्होसारको रमझममा निकै झुम्दैछ। यहाँका युवालाई विभिन्न घटनाका कारण अनेक बात लागेको थियो, अनाहकको दुर्नामले गाउँ नै दुखी थियो।
'हामी तामाङहरूलाई बाटो हिँड्नेले पनि फटाहा भनेर खिसी गर्थे। यो प्रकरणबाट हामीले आफ्नो सच्चा परिचय दिएका छौं,' सूर्यले भने। डिआइजी कोइरालाको शंकास्पद गतिविधि हेरेर नियन्त्रणमा लिने काममा पत्नी सुनितासँगै अग्रसरता देखाएका उनलाई अहिले गाउँलेले रमाइलो उपनाम दिएका छन्, 'फुलीविनाको आइजिपी'।
'डिआइजी समात्ने त कम्तीमा आइजिपी नै हुनुपर्‍यो नि,' मंगल ठट्टा गर्छन्।
मंगलले डिआइजी नियन्त्रणमा लिएको घटनालाई सम्पूर्ण गाउँलेको साहस र इमानदारिताको परिणाम भन्न रुचाउँछन्। 'हामीले शव भेटिएदेखि नै त्यो ठाउँमा शंकास्पद गतिविधि हुनसक्छ भनेर अलर्ट गराएका थियौ,' उनी भन्छन्, 'यो हाम्रो सामूहिक उपलब्धी हो।'
महिला सञ्जालकी संयोजक सुनिताले सबैको जिम्मेवारीवोधकै कारण आफ्नो गाउँबाट अपराधी समाउन सकिएको उल्लेख गर्छिन्। 'उसलाई श्रीमतीको आत्माले डोर्‍यायो, हामीलाई देखाउन दैवले पुर्‍यायो,' सामान्य लेखपढ गरेकी उनी गहकिला कुरा गर्छिन्, 'त्यही भएर नै हरेक गल्ती काट्ने गरी हामीले कुरा गर्न सक्यौं।'
गाउँलेहरुको प्रयासमा सूचनाप्रविधि, शिक्षालगायतका क्षेत्रमा विभिन्न काम हुँदै आए पनि सुरक्षाका दृष्ट्रिले नौखण्डे संवेदनशील रहेको मंगल बताउँछन्। 'एउटा प्रहरी चौकी यहाँ राखिदिए हुन्थ्यो,' उनी भन्छन्। 
 
थुनामा रहेका डिआइजी रञ्जनकी 'प्रेमिका' खोज्दै प्रहरी
केपी ढुंगाना, काठमाडौं, माघ ११- श्रीमती हत्याको अभियोगमा पक्राउ परेका सशस्त्रका डिआइजी रञ्जन कोइरालासँग निकट सम्बन्ध देखिएका तारा रेग्मी 'फरार' भएकी छन्। घटनाबारे जानकारी लिन खोजी सुरु गरेपछि उनी सम्पर्कविहीन भएर बसेको प्रहरी स्रोतले बतायो।
अनुसन्धान क्रममा रञ्जन र ताराबीच झन्डै डेढ वर्षदेखि 'घनिष्ठ सम्बन्ध' रहेको खुलेपछि गीता ढकाल हत्याको अनुसन्धान गरिरहेका महानगरीय प्रहरी अपराध महाशाखा र काठमाडौं परिसरका अधिकारीले उनको खोजी सुरु गरेका हुन्।
'हामी खोजीमा छौं,' अनुसन्धान गरिरहेका काठमाडौं परिसरका एसपी राजेन्द्र श्रेष्ठले नागरिकसँग भने, 'मोबाइल स्विच अफ छ, भेटेका छैनौं।'
वैदेशिक रोजगार प्रवर्द्धन बोर्डकी सदस्य तारा पूर्व राष्ट्रिय भलिबल खेलाडी हुन्।
जावलाखेलमा उनको रेडरोज ओभरसिज म्यानपावर कम्पनी छ। गीता हत्या अभियोगमा आइतबार कोइराला पक्राउ परेलगत्तै उनी सम्पर्कविहीन भएको अनुसन्धान स्रोतले बतायो।
प्रहरीले तारा बस्दै आएको स्वयम्भु र सातदोबाटोको घरमा 'सर्च' गरेको थियो। उनको आफन्तसँग जानकारी लिए पनि केही खुल्न नसकेको स्रोत बताउँछ। रञ्जनले गीताको हत्या आफू एक्लैले गरेको बयान दिए पनि प्रहरीले 'कोही सहयोगी हुनसक्ने' आशंकामा निकट व्यक्तिसँग सोधपुछ गर्न थालेको हो। त्यही क्रममा दुईजना चालक, सुरक्षागार्ड र घरेलु सहयोगीलाई सोमबार बोलाएको थियो। उनीहरूले रञ्जन पटकपटक तारालाई भेट्न सातदोबाटो जाने गरेको बयान दिएका थिए।
'रञ्जनसँग सम्पर्क रहेका व्यक्तिसँग हत्याबारे सोधपुछ क्रममा तारासँग पनि केही बु‰न खोजेका हौं,' अनुसन्धानमा संलग्न स्रोतले भन्यो, 'घटना सार्वजनिक भएको दिनदेखि नै उनी सम्पर्कविहीन बसेकाले हाम्रो शंका बढाएको छ।'
स्रोतअनुसार पुस २७ गते गीताको हत्या गरी पालुङमा शव जलाएपछि पनि दुईबीच भेट भएको खुलेको छ। रञ्जन चीनको तालिमबाट विदामा फर्कंदा विमानस्थलबाट सोझै सातदोबाटोमा तारालाई भेट्न गएको अनुसन्धानमा थाहा भएको छ। त्यसनिम्ति उनले सशस्त्रबाट प्राप्त सुविधाको गाडी प्रयोग गरेका थिए।
गीतासँग मनमुटाव हुन थालेपछि रञ्जन स्वयम्भुमा घर बनाएर बसेका थिए। तारा सातदोबाटोमा बस्ने गरे पनि स्वयम्भुको घरमा समेत उनको आउजाउ बाक्लो रहेको सहयोगीबाट खुलेको छ। गीताका आफन्तले समेत दुवैबीच निकट सम्बन्ध रहेको बताएका छन्।
'उनीहरूले बिहे नै गरेको पुष्टि हुन सकेको छैन,' स्रोतले भन्यो, 'तर, लामो समयदेखि सँगै बस्ने गरेको देखियो।'

औपचारिक बयान भएन
पक्राउ परेको तीन दिन बित्दासमेत प्रहरीले रञ्जन कोइरालासँग औपचारिक बयान लिएको छैन। काठमाडौं जिल्ला अदालतले उनलाई पाँच दिन हिरासतमा राख्न दिएको अनुमति दुई दिन मात्रै बाँकी छ।
अनुसन्धान स्रोतका अनुसार उनीसँग काठमाडौं परिसर र अपराध महाशाखाका अधिकारीले घटनाबारे अनौपचारिक जानकारी मात्र लिएको छ। उनी 'डिप्रेसन'को अवस्थामा रहेकाले औपचारिक बयान नलिएको अनुसन्धान अधिकारी बताउँछन्।
स्रोतका अनुसार उनले अझै पूरा घटना नबताएकाले अनौपचारिक सोधपुछ सकाएर बुधबारदेखि सरकारी वकिलको रोहवरमा औपचारिक बयान लिने तयारी गरिएको छ।
'तनावमा भएको व्यक्तिले सहज रूपमा बयान दिन सक्दैन,' एक अनुसन्धान अधिकारीले भने, 'केही दिन त्यत्तिकै छोड्यो भने आत्मग्लानी भएर सबै घटना बताउनसक्छ।'
थुनुवा कक्षको पश्चिम कोठामा राखिएका उनी पक्राउ परेको दिनभन्दा मंगलबार केही तनावमुक्त देखिएको स्रोतले बतायो। पक्राउ परेदेखि परिवारका कुनै सदस्य भेट्न आएका छैनन्।

Wednesday, November 2, 2011

शान्ति र संविधानका लागि सहमति


शान्ति प्रक्रिया र संविधान निर्माणको जिम्मेवारी पूरा गर्न राष्ट्रिय सहमति अपरिहार्य छ । यस सन्दर्भमा नेपालको शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्‍याई संविधान निर्माणलगायत राजनीतिक प्रक्रियाहरूलाई अगाडि बढाउनुपर्ने तथ्य प्रस्ट नै छ । अतः विस्तृत शान्ति सम्झौता, नेपालको अन्तरिम संविधान, २०६३ तथा विभिन्न समयमा राजनीतिक दलहरूका बीच भएका सहमतिअनुरूप शान्ति प्रक्रियाका बाँकी कामहरू तुरुन्त सम्पन्न गर्दै संविधान निर्माण र राष्ट्रिय सहमतिको राजनीतिलाई अघि बढाउन निम्नलिखित सहमति गरेका छौं ः

१. माओवादी सेनाका लडाकुहरूको समायोजन र पुनःस्थापना

क) शिविरमा रहेका माओवादी सेनाका लडाकुहरूको विवरण अद्यावधिक गरिनेछ ।

ख) समायोजनमा सामेल हुने माओवादी सेनाका लडाकुहरूको संख्या बढीमा ६५०० -छ हजार पाँच सय) सम्म हुनेछ । समायोजन नेपाली सेनाअन्तर्गत महानिर्देशनालयमा हुनेछ । त्यसमा सुरक्षा निकायबाट ६५ प्रतिशत र माओवादी सेनाका लडाकुहरूबाट ३५ प्रतिशतको संख्या रहनेछ । महानिर्देशनालयको कार्य विकास निर्माण, वन सुरक्षा, औद्योगिक सुरक्षा र विपत व्यवस्थापन हुनेछ ।  

ग) समायोजनमा सामेल हुने माओवादी सेनाका लडाकुहरूले सम्बन्धित सुरक्षा निकायको मापदण्ड व्यक्तिगत आधारमा पूरा गर्नुपर्ने छ । तर उमेर, शिक्षा र वैवाहिक स्थितिको मापदण्डमा लचकता अपनाइने छ । माओवादी सेनाका लडाकुमा भर्ना हुँदाको मितिमा तोकिएको दर्जाका लागि शिक्षामा एक तहसम्म र उमेरमा तीन वर्षसम्मको बढी उमेरमा लचकता अपनाइनेछ ।

घ) समायोजनमा सामेल हुनेहरूको दर्जा निर्धारण सम्बन्धित सुरक्षा निकायको मापदण्डअनुसार हुनेछ । सुरक्षा अंगमा अधिकृत र अन्य दर्जामा समायोजन गर्दा सुरक्षा निकायको प्रचलित व्यवस्था र हालका अधिकृत र अन्य दर्जाका व्यक्तिहरूको वृत्ति विकासमा नकारात्मक असर नपर्ने गरी दर्जा निर्धारण गरिनेछ । लडाकुहरूको समयावधि गणना अनमिनले प्रमाणीकरण गर्दा उल्लेख गरेको प्रवेश मितिको आधारमा गरिने छ ।

ङ) सुरक्षा निकायको बि्रजिङ कोर्स र तालिम पूरा गरेपछि लडाकुहरूले सुरक्षा निकायको तोकिएको तहको जिम्मेवारी पाउने छन् । बि्रजिङ कोर्स र तालिम सम्बन्धित सुरक्षा निकायले दिनेछ । 

च) समायोजनको प्रक्रिया सुरु भएपछि शिविरमा रहेका सबै हतियार स्वतः नेपाल सरकारको मातहतमा आउने छन् ।

२) माओवादी सेनाका लडाकुहरूको पुनःस्थापना

क) पुनःस्थापनामा सामेल लडाकुहरूका लागि शिक्षा, तालिम एवं व्यावसायिक अवसरहरूको प्याकेजको विकल्प उपलब्ध गराइनेछ । सो प्याकेजको स्वरूप एवं समयावधि हेरी ६ देखि ९ लाख रुपैयाँसम्मको मूल्य हुनेछ । 

ख) उक्त प्याकेजको सट्टा नगद रकम लिई स्वैच्छिक अवकाशमा जानेहरूका लागि विभिन्न तहको जिम्मेवारी हेरी सबभन्दा माथिल्लो तह तथा त्यसभन्दा तल तीन तह निर्धारण गरिनेछ तथा सबभन्दा माथिल्लो तहका लडाकुहरूलाई ८ लाख रुपैयाँ एवं त्यसपछिका तहमा रहेकाहरूलाई क्रमशः ७ लाख रुपैयाँ, ६ लाख रुपैयाँ र ५ लाख रुपैयाँ दिइनेछ । सो रकम दुई आर्थिक वर्षमा दुई किस्तामा उपलब्ध 

गराइनेछ । यससम्बन्धमा दुई दिनभित्र विशेष समितिको बैठकबाट विधिवत निर्णय गरिनेछ ।  

३) समूह विभाजन

समायोजन र पुनःस्थापनामा सामेल हुनेहरूको सम्बन्धमा विशेष समितिको बैठकबाट प्रक्रियागत विषयमा सात दिनभित्र निर्णय गरी समूह विभाजनको काम प्रारम्भ हुनेछ । समूह विभाजनको काम २०६८ साल मंसिर ७ गतेभित्र सम्पन्न गरिनेछ ।

४) सहमतिबमोजिमका आयोगहरूको गठन

क) विस्तृत शान्ति सम्झौताबमोजिम सत्य निरूपण तथा मेलमिलाप आयोग तथा बेपत्ताहरूको छानबिन आयोगसम्बन्धी विधेयक मेलमिलापको भावनाअनुरूप व्यवस्थापिका संसद्बाट सहमतिका आधारमा पारित गरिनेछ । यी आयोगहरू सहमतिका आधारमा एक महिनाभित्र गठन गरिनेछ ।

ख) विस्तृत शान्ति सम्झौता र नेपालको अन्तरिम संविधान, २०६३ को मर्म र भावनाअनुसार द्वन्द्वकालका मुद्दाहरू हेरिनेछ । 

५) द्वन्द्व पीडितहरूलाई राहत-सहयोग

सशस्त्र द्वन्द्वकालमा द्वन्द्वका कारण मारिएका व्यक्तिका परिवार, अपाङ र अंगभंग भएका व्यक्तिहरू, बेपत्ता व्यक्तिका परिवार, विस्थापित व्यक्ति र परिवार एवं सम्पत्ति नष्ट भएका परिवारलाई न्यायोचित किसिमले बिनाभेदभाव राहत-सहयोग उपलब्ध गराइनेछ । विस्तृत शान्ति सम्झौतापश्चात यसरी दिइने राहत-सहयोग कसैलाई भेदभाव नगरी समानताका आधारमा उपलब्ध गराइनेछ । 

६. विगतका सहमतिहरूको कार्यान्वयन र विश्वासको वातावरण सिर्जना गर्ने क) सशस्त्र द्वन्द्वका क्रममा एकीकृत नेपाल कम्युनिस्ट पार्टी -माओवादी) कोे कब्जामा रहेका निजी तथा सार्वजनिक घर, जग्गा सम्बन्धित व्यक्ति र संस्थालाई फिर्ता गरी भोगचलन गराउन एकीकृत नेपाल कम्युनिस्ट पार्टी -माओवादी) ले संस्थागत निर्णय गरी २०६८ साल मंसिर ७ गतेभित्र सम्बन्धित व्यक्ति र संस्थालाई उपलब्ध गराइनेछ । कब्जा भएको अवधिको जग्गाको आयस्ताबापत सम्बन्धित व्यक्तिलाई उपयुक्त क्षतिपूर्ति दिइनेछ ।

ख) विस्तृत शान्ति सम्झौता, नेपालको अन्तरिम संविधान, २०६३ र वैज्ञानिक भूमिसुधारको मर्म र भावनाअनुसार किसानहरूको अधिकार सुरक्षित गरिनेछ । 

ग) एकीकृत नेपाल कम्युनिस्ट पार्टी 

-माओवादी) को योङ कम्युनिस्ट लिग -वाईसीएल) को अर्धफौजी संरचना र गतिविधिको अन्त्य गरिनेछ तथा त्यसको नियन्त्रणमा रहेका सबै निजी र सार्वजनिक एवं सरकारी भवन र जग्गा २०६८ साल मंसिर ७ गतेभित्र खाली गरी सम्बन्धित संस्था र व्यक्तिलाई फिर्ता गरिनेछ ।

घ) पहिलेको सहमतिबमोजिम यातायात व्यवस्था विभागमा अभिलेख राखिएका एकीकृत नेपाल कम्युनिस्ट पार्टी -माओवादी) को प्रयोगमा रहेका गाडीहरू २०६८ साल मंसिर ७ गतेभित्र नियम-कानुन अनुसार नियमित गरिनेछ । नियमित नभएका गाडीहरू सरकारले जफत गर्नेछ । शिविरमा रहेका गाडीहरू नेपाल सरकारका मातहतमा आउने छन् ।

ङ) कब्जा घरजग्गा फिर्ता गर्ने सहमतिको कार्यान्वयन भए/नभएको अनुगमन गर्ने तथा कार्यान्वयन नभएको भए कार्यान्वयन गराउने जिम्मेवारी स्थानीय प्रशासनको हुनेछ । यसमा राजनीतिक दलहरूलेे सहयोग गर्नुपर्ने छ ।  

७) संविधान निर्माण र राष्ट्रिय सहमतिको सरकार

क) शान्ति प्रक्रिया र संविधान निर्माणको कामलाई सार्थक निष्कर्षमा पुर्‍याउन राजनीतिक दलहरूका बीचको संवादलाई निरन्तरता 

दिइनेछ । यसका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गरिनेछ । 

ख) संविधान निर्माणको कार्यलाई तीव्रता दिइनेछ । संविधानसभाबाट सहमतिका आधारमा अविलम्ब विज्ञहरूको टोली बनाई राज्यको पुनर्संरचनाबारे सुझाव लिइनेछ र एक महिनाभित्र नयाँ संविधानको मस्यौदा निर्माणको काम आरम्भ गरिने छ ।

ग) शान्ति र संविधान निर्माण प्रक्रिया उपर्युक्त किसिमले अगाडि बढ्ने क्रमसँगै राष्ट्रिय सहमतिको सरकार निर्माण प्रक्रिया अगाडि बढाइनेछ ।

पुष्पकमल दाहाल -प्रचण्ड)                 सुशील कोइराला           झलनाथ खनाल                          विजयकुमार गच्छदार 

       अध्यक्ष                                 सभापति                    अध्यक्ष                                 संयुक्त लोकतान्त्रिक मधेसी 

एकीकृत नेपाल कम्युनिस्ट पार्टी        नेपाली कांग्रेस          नेपाल कम्युनिस्ट पार्टी                      मोर्चाको तर्फबाट

      -माओवादी)                                                    -एकीकृत माक्र्सवादी-लेनिनवादी)



मितिः २०६८।७।१५।३

नक्कली केपी र बाबुराम


'मेरी बास्सै' टेलिफिल्म पहिलो पटक हेर्ने दर्शक एकपटक झुक्किन्छन् । प्रधानमन्त्री डा.बाबुराम भट्टराई र एमाले नेता केपी ओलीकै भेष र बोलीमा अभिनय गर्ने दुरुस्त अनुहार देखेर दर्शक नझुक्किऊन् पनि कसरी । बोली उस्तै, भेष उस्तै, अभिनय उस्तै र हिँडाइ पनि । केपीको भूमिकामा निर्देशक सीताराम कट्टेल र भट्टराईको भूमिकामा चितवनका ज्योति काफ्ले देखिँदै आएका छन् । सञ्चारकर्मीका रूपमा काम गर्दै आएका काफ्ले अहिले प्रधानमन्त्री भट्टराईको नामले चिनिन्छन् । उनले बोल्ने थेगो 'भन्ने हामलाई लाइराखेको छ' ले झन् बढी चर्चा कमाएको छ ।
'कहिलेकाँही हतारले सुटिङको लुगा र कपालमा लगाएको रंग नपखाली कोठामा र्फकनुपर्ने हुन्छ,' काफ्लेले भने, 'त्यही भएर बाटामा भेट्ने केटाकेटीदेखि बूढापाकासम्मले नमस्कार गर्छन् । सायद मलाई प्रधानन्त्री भनेर होला ।' तर उनी सामान्य रूपमा हिँड्दा भने थेगोले दर्शकले बोलाउने गर्छन् । २०६५ को अन्त्यबाट 'मेरी बास्सै'मा देखापरेका उनको सुरुको अभिनयले त्यति चर्चा पाएन । पछि बाबुरामको भूमिकामा देखापर्न थालेपछि भने उनी गाउँदेखि सहरसम्मका दर्शकमाझ परिचित बन्न पुगे । 'पहिला घर जाँदा परिवारसँग मात्र भेटघाट हुने गर्दथ्यो,' कार्यक्रममा व्यस्त काफ्लेले भने, 'तर अहिले घर जाँदा मलाई हेर्नकै लागि चोक, टोल र गाउँबाट समेत दर्शक आउँछन् । यो सबै अभिनयकै कमाल हो ।' उनी यो भूमिकामा देखापरेपछि उनलाई प्रधानमन्त्री भट्टराईले पाँचपटक भेटे । उनलाई देख्नेबित्तिकै भट्टराई हाँसिहाल्छन् । 'म प्रधानमन्त्रीलाई भेट्न जाँदा उहाँको भेषमा जान्नँ,' उनले भने, 'तर पनि उहाँ मलाई देख्न साथ हाँस्नुहुन्छ ।'
भट्टराईले आफ्नै भेषमा दुरुस्त अभिनय गर्दा आफू आश्चर्य चकित पर्ने र देश कसरी बनाउने भनेर सुझाव समेत लिने गरेको काफ्लेले बताए । बाबुरामको भूमिकामा देखापरेपछि काफ्लेलाई कार्यक्रममा जान समेत भ्याई नभ्याई छ । आम्दानी गर्ने बाटो पनि दरिलो बनेको छ । नेपालका विभिन्न जिल्ला र विदेशबाट समेत कार्यक्रमका लागि निम्तो आउने गरेको छ । फिल्ममा पनि अभिनयका लागि अफर आउने गरेका छन् । 'यति धेरै चर्चा कमाउँछु भनेर सोचेको थिइनँ,' काफ्लेले भने । केपीको भूमिकामा प्रस्तुत सीताराम (धुर्मुस) पनि उत्तिकै चर्चित छन् । धुर्मुस पात्रसँगै केपीको भूमिकामा देखापर्न थालेपछि कट्टेलले लोकपि्रयता कमाएका हुन् । उनको कार्यक्रम नेता ओलीले समेत हेर्न छुटाउँदैनन् । 'अरूको भूमिकामा अभिनय गर्दा त्यति चासो लिँदैन थिए,' कट्टेलले भने, 'तर ओलीले भने भेटेरै मलाई बधाई दिनुभयो । उहाँकै चरित्रमा अभिनय गरेको गाईजात्रा समेत हेर्न आउनुभयो ।' ओलीले अन्यले गिरिजाप्रसाद, देउवा, प्रचण्ड, माधव नेपालको अभिनय गरेको देखे पनि आफ्नो अभिनय गरेको नदेखेको भन्दै धन्यवाद दिएको कट्टेलले सुनाए ।  'यो सबै दर्शकको माया र ममताले गर्दा भएको हो,' कट्टेलले भने, 'त्यही भएर दर्शकको चाहअनुसार हामी अभिनय गर्दै जानेछौं ।'
ekantripur.com

हालसम्म यस व्गल हेरिएका क्षेत्रहरु

Followers